काठमाडौँ, पुस १७ । जनमत पार्टीका नेता तथा कार्यकर्ताले माइतीघर मण्डलामा धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाएका छन्।
पार्टीका अनुसार, धोती–टोपी एक हौँ भन्ने नारासहित आयोजित यस कार्यक्रममा पहाडी र मधेसी समुदायबीच सहिष्णुता, समानता र सांस्कृतिक सम्मानको सन्देश प्रवाह गरिएको थियो।
जनमत पार्टीले पहाडी समुदायले मधेसी समुदायमाथि गरेको दुर्व्यवहारको विरोध स्वरूप अङ्ग्रेजी नयाँ वर्षको दिन यस दिवस मनाएको बताएको छ। कार्यक्रममा सहभागी नेताहरुले धोती र टोपी दुवैको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका सहभागीहरूले “तराई–पहाड एक हौँ” को नारासहित सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको सन्देश प्रवाह गरे। पार्टीका नेताहरुले राष्ट्रिय पोसाक दिवस केवल परम्परा र पहिचानको सम्मानको दिन नभई सामाजिक न्याय र समानताको सांकेतिक दिवस पनि भएको बताएका छन्।
जनमत पार्टीका अनुसार, यस किसिमका सांस्कृतिक कार्यक्रमले सांस्कृतिक विविधता र एकतालाई जोड दिने उद्देश्य राख्छ। सहभागी कार्यकर्ताले परम्परागत पोसाकमा उपस्थित भई माइतीघर मण्डलामा सांस्कृतिक र ऐतिहासिक सन्देश दिन सफल भएका थिए।
पार्टीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू मार्फत सांस्कृतिक पहिचानको संरक्षण र सामाजिक समानताको सन्देश फैलाउने योजना बनाएको जनाएको छ।




