काठमाडौं, पुस १७ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नयाँ वर्ष २०२६ को अवसरमा राष्ट्रिय एकता, सुशासन, सुधार र रूपान्तरणका लागि सबै देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
खनालले आफ्ना शुभकामना सन्देशमा विश्वव्यापी राजनीतिक र सामाजिक परिवर्तनको चर्चा गर्दै भने, “विश्व शक्ति सन्तुलनमा आएको परिवर्तनले मुलुकलाई समेत असर पुर्याइरहेको छ। नेपालको सामाजिक–आर्थिक संकट, बेरोजगारी, भ्रष्टाचार, कुशासन र युवाको पलायन बढ्दै गएको छ।”
सन्देशमा उनले गत भदौ २४ गते ‘जेन्जी आन्दोलन’को नाममा भएको तोडफोड, आगजनी र लुटपाटलाई मुलुकको महासंकटका रूपमा व्याख्या गर्दै नयाँ वर्ष २०२६ मा यस संकटको समाधानका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए।
खनालले वर्तमान सरकारले प्रतिनिधिसभा निर्वाचन घोषणा गरे पनि निर्वाचनका पूर्वाधार अझै तयार नभएको र शान्तिपूर्ण, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सुनिश्चित गर्नुपर्ने उल्लेख गरे। साथै, उनले संविधान परिमार्जन, शिक्षा र स्वास्थ्यमा सुधार, सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रियता सुदृढीकरण, सुशासन स्थापना र युवाका लागि रोजगारी सिर्जना जस्ता मुद्दामा तुरुन्त कदम चाल्नुपर्ने बताए।
पूर्वप्रधानमन्त्री खनालले १७ वटा वाम समूहलाई एकताबद्ध गरी नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको जानकारी दिए। उनले चार आधारभूत सिद्धान्तको आधारमा सबै वाम र कम्युनिष्ट शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गराउने लक्ष्य रहेको पनि बताए।
खनालले नयाँ वर्षलाई एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्ष बनाउने विश्वास व्यक्त गर्दै सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आग्रह गरेका छन्।




