सप्तरी, पुस १८ । राजविराजको नवनिर्मित सिटि बसर्पाकको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै माइक्रो यातायात व्यवसायीले त्यसलाई नसच्याए सम्म उक्त बसपार्कबाट सवारी साधन नचलाउने जनाएका छन ।
माइक्रो राजविराज ट्राभल्स एजेन्सी प्रालिले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै त्यस्तो जनाएका हुन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सप्तरीका जिल्ला इन्चार्ज समेत रहेका माईक्रो ट्राभल्स एजेन्सी प्रालि राजविराजका अध्यक्ष धिरेन्द्र बर्मा (धिरु) ले प्रेस विज्ञप्ती जारी गर्दै राजविराज नगरपालिकाको स्वामित्वमा रहेको नवनिर्मित वसपार्क संचालन तथा व्यवस्थापनका लागी ल्याइएको कार्यबिधी २०८२ त्रुटिपुर्ण रहेको जनाएको छ ।
राजविराज नगरपालिकाले २०८२ साल बैशाख ३१ गते कार्यपालिकाको बैठकबाट स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १ को उपदफा ७ बमोजिम वसपार्क संचालनका लागी कार्यबिधी जारी गरेको थियो । तर कार्यबिधी ल्याउदा यातायात संचालक र यातायात मजदुरको प्रतिनिधी नराखेको तथा वसपार्क प्रवेश शुल्क, वसपार्किङ्ग शुल्क, शौचालय शुल्क, बुृकिङ्ग काउण्टर लगायतका शुल्क मनपरी ढंगले कायम गरिएको माइक्रो व्यवसायीको गुनासो छ ।
यस्तै यातायात व्यवसायी संग कुनै सहमती नगरी वसपार्क संचालनको टेण्डर प्रक्रिया सुरु गरिएकोमा विज्ञप्ती मार्फत असन्तुस्टी ब्यक्त गरिएको छ ।
माईक्रो व्यवसायीले यातायात व्यवसायी र यातायात मजदुरको प्रतिनिधी राखेर छलफल तथा कार्यबिधीमा देखिएको त्रुटि सच्याउनु पर्ने माग समेत गरेका छन ।
लामो समयको प्रतिक्षा पछि राजविराज–२ को राजदेवी चौकमा सुविधा सम्पन्न वसपार्क निर्माण गरिएको छ । उक्त बसपार्कको ०८२ असोज २५ गते राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले उदघाटन समेत गरिसकेका छन । तर ३ महिना वित्न लाग्दा पनि उक्त बसपार्कबाट सवारी साधनहरु अझै संचालनमा आउन सकेको छैन ।
बसपार्क सम्म पुग्ने बाटो घाटो जीर्ण भएको तथा अव्यवहवारिक शुल्कहरु निर्धारण गरिएको लगायतका कारण देखाई यातायात व्यवसायी त्यहाँबाट सवारी साधन संचालन गर्न मानेका छैनन । फलस्वरुप अहिले पनि बजार क्षेत्र कै सडक किनारबाटै यहाँको यातायात संचालन हुदै आएको छ । जसकारण नगरको सौन्दर्य घट्नुका साथै ट्राफिकजामको समस्या बढ्दो छ ।
नगरपालिकाले भने यातायात संचालकहरु संग निरन्तर छलफल भइरहेको तथा छिट्टै नयाँ बसपार्कबाट सवारी साधानहरु गुड्ने जनाएको छ ।




