काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुटेपछि सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
सभापति देउवाले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित आफ्नै निवासमा छलफलका लागि आमन्त्रण गरेका हुन् । कार्यवाहक सभापति खड्कानिकट स्रोतका अनुसार छलफलको तयारी भइसकेको छ ।
‘कार्यवाहक सभापति अहिले निवासमै भेटघाटमा हुनुहुन्छ । केहीबेरपछि सभापतिज्यूसँग छलफलका लागि जाने तयारी छ,’ स्रोतले जनाएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिमा रहेका अर्का एक नेताको सचिवालयले पनि सभापति देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको पुष्टि गरेको छ । उनका अनुसार छलफल बिहान १० बजेपछि सुरु हुने बताइएको छ ।
यसैबीच, नेपाली कांग्रेसले आज (शुक्रबार) केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकबारे मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर पुस १६ गतेका लागि तय गरिएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार नियमित अधिवेशन स्थगन भएको विज्ञप्ति सार्वजनिक गरेका थिए ।
नियमित महाधिवेशन अनिश्चित बनेपछि महामन्त्रीद्वयले पुस २७ गते विशेष महाधिवेशन घोषणा गर्ने तयारीसमेत अघि बढाएका छन् । विशेष महाधिवेशनका पक्षधर समूहले भृकुटीमण्डपको हलसमेत बुक गरिसकेको जनाइएको छ ।
कांग्रेसभित्र महाधिवेशनलाई लिएर बढ्दो मतभेदका बीच आज हुने छलफल र कार्यसम्पादन समिति बैठकलाई निर्णायक मानिएको छ ।




