काठमाडौं , पुस १८ । पछिल्ला केही दिनदेखि सामान्य रूपमा घट्दै आएको सुनचाँदीको मूल्य आज फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको थियो। एकै दिनमा सुनको मूल्य २ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य १ सय १० रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुन ४ हजार ३७२ अमेरिकी डलर र चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय आर्थिक अवस्था, अमेरिकी डलरको विनिमय दर, भूराजनीतिक तनाव र लगानीकर्ताको आकर्षणका कारण सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। व्यवसायीहरूका अनुसार आगामी दिनमा पनि अन्तर्राष्ट्रिय बजारको प्रभावअनुसार स्थानीय बजारमा मूल्य परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।




