धादिङ , पुस १८ । रुवीभ्याली गाउँपालिका वडा नं. ५ अन्तर्गत पर्ने लापा गाउँमा पहिलो पटक गाडी पुगेको छ। दुर्गम भूगोल र विशाल चट्टानका कारण लामो समयदेखि सडक विस्तार हुन नसकेको यस गाउँमा अब औपचारिक यातायात सञ्चालन हुने अवस्था बनेको हो।
गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङका अनुसार लापा गाउँ गाउँपालिकाभित्र सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको वडा हो। अप्ठ्यारो भौगोलिक बनावट र ठूला चट्टानले सडक निर्माण चुनौतीपूर्ण बनाएको भए पनि निर्वाचित पहिलो वर्षमै स्थानीय सरकारले ब्लास्टिङको व्यवस्था गरेर सडक निर्माण अघि बढाएको हो।
अध्यक्ष तामाङका अनुसार, जिल्ला समन्वय समिति, गृह मन्त्रालय, रक्षा मन्त्रालय र नेपाली सेनासँगको समन्वयमा विशाल चट्टान ब्लास्ट गरेर सडक ट्र्याक खोलिएको छ। हाल माथिल्लो गाउँसम्म सडक पुगेको छ भने केही अप्ठ्यारा मोडहरूमा स्थानीय निर्माणाधीन हाइड्रो प्रोजेक्टसँग सहकार्य गरी गाडी गुड्न सक्ने अवस्था बनाइएको छ।
“सम्भवतः एक हप्ता–दस दिनभित्र औपचारिक रूपमा लापा गाउँसम्म गाडी सञ्चालन सुरु हुनेछ,” अध्यक्ष तामाङले जानकारी दिए। आँखु खोला र लापा खोलाको दोभानमा पुल नबनेकाले वर्षायाममा यातायातमा समस्या देखिन सक्ने भए पनि हिउँदभरि यातायात सञ्चालनमा रहने विश्वास गरिएको छ।
सडक अभावका कारण यसअघि स्थानीयको दैनिक जीवन अत्यन्त प्रभावित हुँदै आएको थियो। पूर्वमा गाडी केवल वडा नं। ४ को बतासे गाउँसम्म पुग्थ्यो र त्यसपछि करिब तीन घण्टा पैदल भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता थियो।
अध्यक्ष तामाङले आगामी योजनाको रुपमा वडा नं. ५ र ६ सहित तीन वडाको दोभानमा पुल निर्माण गर्ने आवश्यकता औँल्याउँदै डिपीआर तयार भइसकेको जानकारी दिएका छन्। स्थानीय हाइड्रो प्रोजेक्टसँग समन्वय गरी कार्यकालभित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको उनले बताए।
स्थानीय नागरिक सडक निर्माणपछि खुसी व्यक्त गर्दै, यातायात, शिक्षा र स्वास्थ्य सेवा सहज हुने आशा व्यक्त गरेका छन्।






