त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु



काठमाडौं, असोज ६ । काठमाडौंको त्रिपुरेश्वरमा बसभित्र भएको आगलागीमा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृतक चालकको नाम र ठेगाना अझै खुल्न सकेको छैन । आगलागीका क्रममा उनको शरीरको ठूलो भाग जलेको थियो ।

आगलागीपछि सुरक्षाकर्मी तथा स्थानीयवासीले उनलाई बसबाट उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएका थिए । गम्भीर अवस्थामा रहेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले घटनास्थलमा भेटिएको लाइसेन्सका आधारमा मृतक चालकलाई दावा लामा भएको हुनसक्ने बताएको थियो । तर, लाइसेन्समा उल्लेखित दावा लामाले आफू नै लाइसेन्सधारी भएको र आफू सकुशल रहेको जानकारी गराएपछि प्रहरीले मृतक व्यक्तिले उक्त लाइसेन्स दुरुपयोग गरेको हुनसक्ने आशंका गरेको छ ।

प्रहरीले मृतकको वास्तविक पहिचान खुलाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको थप विवरण तथा आगलागीको कारणबारे पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ०७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको