काठमाडौंका होटलमा कारमार्फत युवती सप्लाई गर्ने युवक कारागार चलान



काठमाडौं , पुस १८ । काठमाडौंका विभिन्न होटलहरूमा ग्राहकको मागअनुसार कारमार्फत युवती सप्लाई गर्ने धन्दा चलाएको आरोपमा पक्राउ परेका एक युवक कारागार चलान भएका छन्।

दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई हाल बूढानिलकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। उनलाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको बिहीबारको इजलासले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा कार्कीलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार कार्कीले आफ्नै कार प्रयोग गरी युवतीहरूलाई उपत्यकाका विभिन्न होटलहरूमा पुर्‍याउने र त्यसवापत मोटो रकम असुल्ने गर्दै आएका थिए। उनले ठमेल, गौशाला, गोंगबु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरूमा युवती सप्लाई गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

कार्कीलाई २० मंसिरमा प्रहरी वृत्त गौशालाको टोलीले सरस्वतीनगरबाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले होटलका कर्मचारी, ग्राहक खोज्ने व्यक्तिहरू तथा ट्याक्सी चालकहरूसँग सम्पर्क राखी नेटवर्क बनाएर काम गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार करिब ५० जना युवतीका तस्बिरहरू उनले होटल स्टाफ, ट्याक्सी चालक र ग्राहक खोज्ने व्यक्तिहरूलाई उपलब्ध गराउने गरेका थिए।

कार्कीविरुद्ध दुई युवतीले आफूहरूलाई प्रलोभनमा पारेर जबरजस्ती यौनधन्दामा लगाइएको भन्दै जाहेरी दिएका थिए। १९ मंसिरमा ती युवतीलाई उनले आफ्नै कारमा राखी काठमाडौं महानगरपालिका–९ विजयचोक पुर्‍याएर ग्राहकसँग सम्पर्क गराइदिएपछि फरार भएको बताइएको छ।

पछि पीडितको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई उद्धार गरी कार्कीलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: २०८२ पुष १९, शुक्रवार १७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको