काठमाडौं , पुस १८ । कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। कतारका विभिन्न जेलमा सजाय भोगिरहेका नेपालीहरूलाई अमिरी आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ। विज्ञप्तिमा कतारका अमिरद्वारा प्रदान गरिएको उदार र मानवीय आममाफीलाई नेपाल–कतारबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको महत्वपूर्ण अभिव्यक्तिका रूपमा लिइएको उल्लेख छ।
सरकारले मानवीय आधारमा दिइएको यस दयालु क्षमादानको उच्च कदर गर्दै यसले दुई देशबीचको आपसी समझदारी, सौहार्द र मित्रतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार आममाफी पाएका नेपालीहरूको आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फिर्ताको व्यवस्था मिलाइनेछ।
कतार नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो। हाल कतारमा करिब ५ लाख नेपाली नागरिक विभिन्न क्षेत्रमा कार्यरत छन्। वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपाली रोजगारीका लागि कतार गएका थिए।
नेपाल र कतारबीच श्रम, रोजगारी, लगानी तथा कूटनीतिक सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको छ। हालै नेपाल सरकारले मैत्री सम्बन्धको प्रतीकस्वरूप कतारलाई दुईवटा हात्ती उपहार दिएको थियो।
कतार सरकारले समय–समयमा विभिन्न मुलुकका कैदीहरूलाई राष्ट्रिय दिवसलगायत विशेष अवसरमा आममाफी दिने परम्परा राख्दै आएको छ। यसपटक १३ जना नेपालीलाई आममाफी दिइनु नेपाली समुदायका लागि राहत र सकारात्मक सन्देशका रूपमा हेरिएको छ।




