सशस्त्र संघर्षपछि राजनीतिमा ओझेल परेकी सकिनाको पुनरागमन, नेकपा को समानुपातिक सूचीमा नाम



काठमाडौं , पुस १८ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक बन्दसूचीमा सशस्त्र संघर्षमा सहभागी भएर पनि लामो समय राजनीतिक अवसरबाट वञ्चित हुँदै आएकी सकिना मुस्लिम (कौशर जहाँ) को नाम समेटिएको छ। यसलाई राजनीतिक वृत्तमा सशस्त्र द्वन्द्वकालका सीमान्त अनुहारको पुनरागमनका रूपमा हेरिएको छ।

सकिना २०५८ देखि २०६३ सालसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र संघर्षमा सक्रिय छापामार थिइन्। त्यतिबेला उनी ‘रविना खान’ नामबाट चिनिन्थिन्। कपिलवस्तुमा जन्मिएकी सकिना किशोरावस्थामै जनयुद्धमा होमिएकी थिइन्। मुस्लिम समुदायकी महिला भएकै कारण सामाजिक बन्धन र सीमाभन्दा बाहिर निस्कनु उनका लागि सहज थिएन।

समाजको पिँधमा रहेका समुदायले भोग्दै आएको विभेद, पीडा र अन्याय नजिकबाट देखेपछि राजनीतितर्फ आकर्षित भएको उनी बताउँछिन्। २०५८ मंसिर ५ गते घर छाडेर भूमिगत जीवन रोजेकी सकिना तत्कालीन माओवादी जनमुक्ति सेनामा आबद्ध भइन्। गोरखा, कास्की, सिन्धुली, चितवनलगायत विभिन्न जिल्लामा भएका भिडन्तमा उनी फ्रन्टलाइनमा रहेर सहभागी भइन्।

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि सशस्त्र संघर्ष शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भयो। तर त्यसपछि पार्टीको विभिन्न रूपान्तरण— माओवादी, माओवादी केन्द्र, एमालेसँगको एकता हुँदै अहिलेको नेकपा—सम्म आइपुग्दा पनि सकिनाले अपेक्षित राजनीतिक जिम्मेवारी पाउन सकेकी थिइनन्।

२०८२ सालमा आइपुग्दा भने उनको राजनीतिक यात्रामा सकारात्मक मोड आएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बुझाइएको समानुपातिक सूचीमा मुस्लिम महिलातर्फ उनको नाम प्राथमिकतामा राखिएको छ।

पार्टीका नेताहरू र तत्कालीन सहयात्रीहरूले सकिनाको योगदानको कदर भएको भन्दै यसलाई ढिलै भए पनि सही कदम मानेका छन्। उपेक्षित, उत्पीडित र पछाडि पारिएका समुदायको आवाज संसदसम्म पुर्‍याउने जिम्मेवारी अब उनको काँधमा आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति: २०८२ पुष १९, शुक्रवार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको