सप्तरीको धारापानी पर्यटकको आकर्षणको केन्द्रबिन्दु



सप्तरी , पुस  १८ । कञ्चनरूप नगरपालिका-१२ स्थित धारापानी आफ्नो प्राकृतिक सुन्दरताले पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनेको छ। नयाँ वर्ष, बिदा वा अन्य दिनमा पनि यहाँ घुँइचो लाग्ने गरेको स्थानीय स्रोतले बताएका छन्।

स्थानीय लक्ष्मी चौधरीका अनुसार, “सन् २०२६ को पहिलो दिनमै धारापानीमा पाँच दर्जनभन्दा बढी टोलीले पिकनिक मनाएका छन्। यहाँको मनमोहक दृश्य र सुविधा सम्पन्न पिकनिक स्थलले पर्यटकलाई सहजता प्रदान गरेको छ।”

स्थानीय भावना घिमिरेले भने, “धारापानीले केवल स्थानीय मात्र नभई बाहिरी पर्यटकको पनि रोजाइ पाएको छ। यहाँको आकर्षण र सुविधा दुवैको कारण पर्यटकहरू बारम्बार आउँछन्।”

धारापानीमा घुमफिर र पिकनिकका लागि धरान, विराटनगर, काठमाडौँ, इटहरी, झुम्का, इनरुवा, झापा, सिराहा, धनकुटा तथा भारतको विहार राज्यका पर्यटकहरू समेत आउने गरेका छन्। पूर्व–पश्चिम राजमार्गदेखि करिब डेढ किलोमिटर उत्तरी भेगमा अवस्थित यो स्थलमा ठुलो एकधारा र तीन साना धाराहरू निरन्तर पानी आपूर्ति गरिरहेका छन्। त्यस्तै यहाँको धर्मेश्वर महादेव मन्दिर दर्शन गर्न आउनेको संख्या पनि उल्लेखनीय छ।

धारापानी क्षेत्रभित्र सल्हेश पिढिया, दोभान, कुन्तामाई, परेवाभीर, तिरतिरे, सोलिघोप्टे, हरिण दह, सुगा खोली जस्ता रमणीय स्थानहरू समेत छन्, जहाँ पर्यटक घुमफिर गर्न रुचाउँछन्।

कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन गुप्ताले भने, “पछिल्लो वर्षहरूको तुलनामा यसपालि धारापानीमा पिकनिक मनाउन आउनेको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। यसले स्थानीय पर्यटन विकासमा सकारात्मक प्रभाव पार्नेछ।”

धारापानीको प्राकृतिक सौन्दर्य, सुविधा सम्पन्न पिकनिक स्थल र धार्मिक स्थलहरूको संयोजनले यसलाई सप्तरीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरिसकेको छ।

प्रकाशित मिति: २०८२ पुष १८, शुक्रबार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको