उखु खेती घट्दै, चिनी उद्योग आधा क्षमता मा सीमित



काठमाडौं , पुस  १८ । देशका चिनी उद्योगहरूमा कच्चापदार्थको अभावले संकट सिर्जना गरेको छ। उखु उत्पादन घटेसँगै उद्योगहरूले आफ्नो क्षमता आधाभन्दा कम मात्र प्रयोग गर्न सकिरहेका छन्। एभरेस्ट सुगर मिलले ७ पुसदेखि क्रसिङ सुरु गरी हालसम्म ३ लाख २४ हजार ८ सय क्विन्टल उखु पेलिसकेको छ।

गत वर्ष २ करोड १६ लाख क्विन्टल उखु उत्पादन भएको थियो भने यस वर्ष १०–२० प्रतिशतले घट्ने अनुमान गरिएको छ। प्रमुख कारण किसानको वैदेशिक रोजगारी र अन्य बालीतर्फ आकर्षण, मलखादको पहुँच, उच्च श्रम लागत, मूल्य अस्थिरता र सरकारी नीति परिवर्तन रहेका छन्।

एभरेस्ट सुगर मिलको प्राविधिक क्षमता एक सिजनमा ६० लाख क्विन्टल क्रसिङ गर्न सक्ने भए पनि उखु अभावका कारण यस वर्ष केवल आधाभन्दा कम मात्र उपयोग भइरहेको छ। मिलको कार्यक्षेत्र ‘कमान्ड एरिया’ निर्धारण भएपछि पूर्वी सर्लाहीको उत्पादन मात्रै पाउने भएकाले करिब ५ लाख क्विन्टल उखु गुमेको छ।

अन्य मिलहरू पनि उखुको अभाव र भुक्तानी ढिलाइका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न सकेका छैनन्। नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायका अनुसार, किसानहरू समयमै भुक्तानी नपाउने डरका कारण वैकल्पिक बालीतर्फ लागेका छन्।

उखु उत्पादन क्षेत्र पनि घट्दै गएको छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७७\७८ मा ६४,३५४ हेक्टरमा उखु खेती भएकोमा २०७८\७९ मा ६२,५६७ हेक्टर, २०७९\८० मा ६२,८३३ हेक्टर र २०८०\८१ मा ५५,४४० हेक्टरमा सीमित भएको छ।

मिल सञ्चालक महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार, सरकारको अस्थिर नीति, मलखादको ढिलाइ, कामदार अभाव र बजार अस्थिरताका कारण किसानको उखुप्रतिको मोह घटेको छ। परिणामस्वरूप उद्योगहरू आधा क्षमतामा सञ्चालन गर्न बाध्य छन् र किसानले समयमै मूल्य पाउन कठिनाइ भोगिरहेका छन्।

प्रकाशित मिति: २०८२ पुष १९, शुक्रवार १४:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको