काठमाडौं , पुस १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाँच जनाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। उम्मेदवारी फिर्ता लिने घोषणा गर्नेहरूमा डा. महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पा रहेका छन्।
पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएपछि विभिन्न तहबाट आलोचना र प्रश्न उठ्दै आएको थियो। सोही पृष्ठभूमिमा यी पाँच जनाले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन्।
शनिबार युवा उद्यमी तथा एफसी चितवनका अध्यक्ष सचिन ढकालले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्। उनी उद्योगपति चन्द्र ढकालका छोरा हुन्। ढकालले समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारण देखाउँदै उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
यसअघि डा. महेन्द्र लावती, त्रिशला गुरुङ, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका थिए। अभिनेता तथा टेलिभिजन कार्यक्रम होस्ट आशिफ शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरबाट पहिलो नम्बरमा थिए। उनी रास्वपाका पूर्वसांसद असिम शाहका दाइ हुन्।
त्रिशला गुरुङ पेशाले चिकित्सक तथा चर्चित गायिका हुन्। उनले शुक्रबार फेसबुकमार्फत समानुपातिक बन्दसूचीबाट पछि हट्ने जानकारी दिएकी थिइन्। टासी ल्हाक्पा शेर्पा अनुभवी पर्वतारोही तथा फोर्टिन पिक्स एक्सपिडिसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। उनी हालै रास्वपामा प्रवेश गरेका टासी मिङ्मा शेर्पाका भाइसमेत हुन्।
त्यस्तै डा. महेन्द्र लावती प्राध्यापन पेसामा संलग्न छन्। रास्वपाबाट लगातार उम्मेदवारी फिर्ता हुने क्रम बढेसँगै पार्टीको समानुपातिक सूची र आन्तरिक निर्णय प्रक्रियाबारे राजनीतिक वृत्तमा चासो बढेको छ।




