काठमाडौँ, पुस १९ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नछाड्ने र नफुटाउने स्पष्ट सन्देश दिँदै कांग्रेसकै नेतृत्व आफूहरूले गर्ने दाबी गरेका छन्। शुक्रबार सानेपामा सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखिएको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले भनेका छन्, “न हामी कांग्रेस छाड्छौँ, न फुटाउँछौँ, बरु कांग्रेसको नेतृत्व गर्नेछौँ।”
महामन्त्री शर्माले विशेष महाधिवेशन, नियमित महाधिवेशनको कार्यतालिका, गठबन्धन नीति, समानुपातिक सूची र पार्टी फुट्ने हल्लाबारे स्पष्ट धारणा राखेका छन्। उनले विधानको धारा १७ (२) अनुसार माग गरिएको विशेष महाधिवेशनलाई सम्बोधन गर्नु अपरिहार्य रहेको बताए। नियमित महाधिवेशन भएमा विशेष महाधिवेशनको माग स्वतः सम्बोधन हुन सक्ने भए पनि अहिलेको अवस्था विरोधाभाषपूर्ण रहेको उनको भनाइ छ।
उनले कार्यवाहक सभापतिले सभापतिसँग परामर्श गरी आज–भोलिमै विशेष महाधिवेशनबारे टुंगोमा पुग्नुपर्ने बताए। विशेष महाधिवेशनका लागि दुई विकल्प प्रस्तुत गर्दै पहिलो विकल्प सहमतिपूर्वक महाधिवेशन बोलाउने र दोस्रो विकल्प असहमतिका बीच महामन्त्रीहरूले आह्वान गर्ने रहेको स्पष्ट पारे।
नियमित महाधिवेशनको नयाँ कार्यतालिकाबारे असहमति नरहे पनि मुख्य विषय विशेष महाधिवेशन नै भएको उनको जोड छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई बेवास्ता गर्न कसैलाई अधिकार नभएको उनले चेतावनी दिए।
महामन्त्री शर्माले पार्टीभित्र देखिएको विरोधाभाषतर्फ संकेत गर्दै निर्वाचनमा जाने निर्णय सर्वसम्मत भए पनि पुनर्स्थापनाका लागि सांसदलाई हस्ताक्षर गराइनु, आगामी चुनावमा गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णयविपरीत एमालेसँग गठबन्धनको ‘भूमिगत तयारी’ हुनु आत्मघाती हुने बताए।
समानुपातिक सूची बनाउँदा मतदाताको रुचिलाई बेवास्ता गरिएको उल्लेख गर्दै उनले मध्यरातमा ६०–४० को दबाब आउनु गम्भीर गल्ती भएको बताए र सूची सच्याउनुपर्ने आवश्यकता औँल्याए।
अन्त्यमा, पार्टी फुट्ने हल्लालाई अस्वीकार गर्दै उनले दृढतापूर्वक भने, “हामी सिंगो कांग्रेसको नेतृत्व गर्न चाहन्छौँ। कांग्रेस छाड्छौँ वा फुटाउँछौँ भन्ने नसोच्नू, हामी पर्खिन्छौँ पनि, फर्किन्छौँ पनि।”




