बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन माघ १ गते उद्घाटन तयारीमा



दाङ, पुस  १९ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार माघ १ गते कोहलपुरस्थित सवस्टेशन ग्रिडबाट विद्युत लाइन छोड्ने तयारी भइरहेको छ। उद्घाटनपूर्व लाइनको परीक्षण र सुरक्षा जाँचसमेत गरिने छ।

विशेषगरी सुर्खेतको हर्रे क्षेत्रमा अप्ठ्यारो भूगोलका कारण ड्रोनको प्रयोग गरी विद्युत तार तान्ने काम भइरहेको छ। चौधरीले बताए अनुसार, झन्डै दुई किलोमिटर दुरीमा ड्रोनबाट तार तान्ने प्रयास भइरहेको भए पनि प्रतिकूल मौसम र बाक्लो हुस्सुका कारण काममा केही ढिलाइ भइरहेको छ।

कार्यक्रम क्षेत्र राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले, काटिएका रूखहरू आफैं निकाल्ने नियम पालना गर्दै ड्रोन प्रयोग गर्नुपर्ने अवस्था आएको छ। आयोजना अनुसार कोहलपुर–सुर्खेत लाइन विस्तारका लागि कुल १३ हजारभन्दा बढी रूख काटिएको छ।

कोहलपुरदेखि सुर्खेतसम्म कुल १६२ टावर निर्माण सम्पन्न भइसकेको छ। सुर्खेतको सुब्बा कुनामा ५० मिटर हाइटको टावर बनाइएको छ भने अन्य टावरहरू ३० मिटर उचाइका छन्। यो लाइन पुरानो ३३ केभी लाइनको विस्थापन गर्दै बनाइँदैछ, जुन ३७ वर्षअघि सञ्चालनमा आएको थियो।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा भारतीय कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले आयोजना संचालन गरेको हो। अस ष्लष्तष्बििथ २०७६ असारमा सुरु गरिएको यो परियोजना स्थानीय अवरोध, निकुञ्ज क्षेत्रको काम र भूगोलिक चुनौतीका कारण ढिलो भएको थियो। स्थानीयलाई मुआब्जा वितरण गर्दै र अदालतको अनुमति लिएर काम अघि बढाइएको थियो।

आयोजना प्रमुख चौधरीले भने, “कामको ढिलाइ भए पनि कर्णाली क्षेत्रमा विद्युतको लो भोल्टेज समस्या समाधान र थप उज्यालो बनाउने यो कदम सबैका लागि स्वागतयोग्य छ।”

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन उद्घाटनपछि कर्णालीबासीलाई स्थिर विद्युत आपूर्ति उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष २०, शनिवार १४:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको