रौतहटका अग्रज पत्रकार मोहनप्रसाद शर्माको निधन



रौतहट, पुस १९ । रौतहटका अग्रज पत्रकार मोहनप्रसाद शर्माको निधन भएको छ । गौर नगरपालिका–५ निवासी शर्माको शुक्रबार राति ८५ वर्षको उमेरमा निधन भएको हो ।

अग्रज पत्रकार शर्माले रौतहटको पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामा पत्रकारिताको आधार निर्माण गर्न शर्माको भूमिका महत्वपूर्ण रहेको छ ।

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले पनि शर्माले रौतहटमा पत्रकारिताको जग बसाल्न उल्लेखनीय योगदान दिएको बताए । उनले समाजमा चेतना अभिवृद्धि, सुशासन र पारदर्शिता कायम गर्न वरिष्ठ पत्रकार शर्मा निरन्तर क्रियाशील रहेको स्मरण गरे ।

स्वर्गीय शर्मा नेपाल गुप्तचर विभागको जिल्ला जनसम्पर्क अधिकृतको रूपमा पनि कार्यरत रहेका थिए । उनी २०४२ सालमा रौतहटबाट राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार समेत रहेका थिए ।

पत्रकारिताको क्षेत्रमा लामो अनुभव बटुल्नुभएका शर्माले रेडियो नेपालमा समाचार वाचकका रूपमा समेत सेवा गरेका थिए । भने उनी प्रकाशक तथा सम्पादक रहेको ‘समय धारा’ साप्ताहिक पत्रिका २०५२ मंसिर १४ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता भएको थियो ।

राजनीतिक जीवनको प्रारम्भिक चरणमा उनी नेकपा (पुष्पलाल समूह) का नेता थिए । । त्यस समयमा उनले रौतहटका धेरै युवालाई वामपन्थी आन्दोलनतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । पछिल्लो समय उहाँ ‘माहुरी र माकुरा’ लेख्ने नेताका रूपमा समेत परिचित थिए ।

अग्रज पत्रकार शर्माको निधनले रौतहटको पत्रकारिता क्षेत्रले एक अनुभवी, सचेत र समर्पित व्यक्तित्व गुमाएको छ ।

प्रकाशित मिति: २०८२ पुष १९, शनिबार १६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको