काठमाडौं , पुस १९ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र चुलिँदै गएको पछिल्लो विवाद र राजनीतिक परिस्थितिबारे आफूनिकट नेताहरूसँग छलफल गरेका छन्। उनले शनिबार काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितका नेता–कार्यकर्तासँग अन्तरक्रिया गर्दै वर्तमान अवस्थाबारे राय संकलन गरेका हुन्।
विशालनगरस्थित सम्पर्क कार्यालयमा आयोजित छलफलमा पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वको सुरक्षित अवतरण, मुलुकमा देखिएको समग्र राजनीतिक संकटको समाधान तथा आगामी कार्यदिशाबारे गम्भीर चर्चा भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
छलफलमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालै गरेका निर्णयहरू, महामन्त्रीहरूले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव र त्यसलाई कसरी समन्वय र व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा समेत विचार–विमर्श भएको बताइएको छ। पार्टीभित्र देखिएको असहमति र मतभेदलाई संवादमार्फत समाधान गर्दै संस्थागत प्रक्रियालाई बलियो बनाउने उपायहरूबारे सहभागी नेताहरूले सुझाव दिएका थिए।
‘पार्टीभित्र देखिएका दुवै धारलाई एकै सूत्रमा बाँधेर आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा अघि बढ्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि विस्तृत छलफल भयो,’ थपलियाले बताए।
छलफलमा सहभागी नेताहरूले पार्टीको अनुशासन समितिबाट कारबाहीमा परेका तथा पछि मिनाहा पाएका नेताहरूलाई पूर्ववत् जिम्मेवारी र पदमा कायम राख्न पहल गर्नुपर्ने मागसमेत राखेका छन्। यसले पार्टीभित्रको असन्तुष्टि कम गर्न र कार्यकर्तामा सकारात्मक सन्देश दिन मद्दत पुग्ने उनीहरूको धारणा थियो।
नेता कोइरालाले पार्टीलाई एकताबद्ध, लोकतान्त्रिक र विधिसम्मत ढंगले अघि बढाउन आफू निरन्तर पहलरत रहने प्रतिबद्धता जनाउँदै सबै पक्षसँग संवाद र सहकार्यलाई प्राथमिकता दिने संकेत गरेका छन्।




