शालीनदीमा स्वस्थानी व्रतालुको घुइँचो



काठमाडौँ, पुस १९ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रतका अवसरमा काठमाडौँको साँखुस्थित शालीनदीमा व्रतालुहरूको ठूलो घुइँचो लागेको छ। बिहानैदेखि शालीनदीमा स्नान तथा पूजा–आराधनाका लागि भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

एक महिनासम्म चल्ने स्वस्थानी व्रत अवधिभर शालीनदीमा दैनिक रूपमा व्रतालुहरूको भीड लाग्ने गर्दछ। परापूर्वकालदेखि नै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शालीनदीमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत हिन्दु धर्मावलम्बीहरू स्नान गर्न आउने गर्दछन्।

स्वस्थानी व्रतकथाअनुसार विवाहित महिलाले विधिपूर्वक एक महिनासम्म स्वस्थानी माताको पूजा आराधना गरेमा श्रीमानको दीर्घायु हुने र अविवाहित महिलाले सुयोग्य वर प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ। यसैगरी, एक महिनासम्म स्वस्थानी व्रत कथा श्रवण गरेमा पनि शुभ फल प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

स्वस्थानी व्रतकथासँग प्रत्यक्ष रूपमा जोडिएको शालीनदी क्षेत्रमा प्रत्येक वर्ष एक महिनासम्म मेला लाग्ने गर्दछ। पूर्वी काठमाडौँको साँखुस्थित शाली नदीमा किशोर–किशोरी, बालबालिका, वृद्धवृद्धा तथा सन्त–महन्तसहित श्रद्धालुहरूको उल्लेखनीय भीड लाग्ने गरेको छ।
धार्मिक आस्थासँगै सांस्कृतिक मेलमिलापको केन्द्र बनेको शालीनदी क्षेत्र हाल भक्तजनहरूको चहलपहलले निकै रौनकपूर्ण बनेको छ।

प्रकाशित मिति: २०८२ पुष २०, शनिवार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको