एजेन्सी, पुस १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा भएको आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी सार्वजनिक रूपमा गरेका हुन् ।
ट्रम्पका अनुसार काराकासमा भएको विष्फोटपछि अमेरिकाले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य कारबाही गरेको थियो । उक्त कारबाहीकै क्रममा राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिइएको र देशबाहिर लगिएको दाबी उनले गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत लेखेका छन्, “अमेरिकाले भेनेजुएला र उसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध सफलतापूर्वक ठूलो स्तरको आक्रमण गरेको छ । मादुरोलाई उनकी पत्नी सहित पक्राउ गरी देशभन्दा बाहिर लगिएको छ।”
यद्यपि, ट्रम्पको यो दाबीबारे भेनेजुएला सरकार वा अन्तर्राष्ट्रिय निकायबाट कुनै आधिकारिक पुष्टि भइसकेको छैन । भेनेजुएलाको सरकारी सञ्चार माध्यमले पनि हालसम्म यस विषयमा स्पष्ट प्रतिक्रिया दिएको छैन ।
अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिका र भेनेजुएलाबीच लामो समयदेखि तनाव रहँदै आएको छ । ट्रम्प प्रशासनकालमै मादुरो सरकारमाथि कडा आर्थिक प्रतिबन्ध लगाइएको थियो । पछिल्लो दाबीले दुई देशबीचको तनाव अझ चर्किने अनुमान गरिएको छ ।
यस घटनाबारे थप विवरण र आधिकारिक पुष्टि आउन बाँकी रहेको जनाइएको छ ।




