ट्रम्पको आदेशमा भेनेजुएलामा अमेरिकाद्वारा सैन्य आक्रमण



काराकास , पुस  १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भेनेजुएलाका सैन्य अखडाहरूमा आक्रमण भएको छ। राजधानी काराकासको ‘ला कार्लोटा’ सैन्य एयरफिल्ड र मुख्य सैन्य आधार ‘फुएर्टे ट्युना’लाई निशाना बनाएर आक्रमण गरिएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्। शनिबार बिहानैदेखि सहरको आकाशमा अमेरिकी विमान उडेको देखिएको र ठुला विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

सोही क्रममा आक्रमण प्रभावित क्षेत्र वरिपरिका बस्तीहरूमा विद्युत् सेवा अवरुद्ध भएको र राजधानी माथि धुवाँको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सार्वजनिक भएका भिडियोहरूमा विस्फोट र क्षतिको प्रभाव स्पष्ट देखिएको छ।

ट्रम्प प्रशासनका अनुसार यो कदम भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि केही हप्तादेखि बढ्दो दबाब सिर्जना गरेपछि उठाइएको हो। अमेरिकाले मदुरोलाई अवैधानिक रूपमा निर्वाचित र लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै आएको छ। यसैबीच, क्यारेबियन क्षेत्रमा लागुऔषध बोकेको शङ्कामा डुङ्गाहरूमाथि सैन्य कारबाही तीव्र पारिएको समयमा आक्रमण भएको बताइएको छ।

भेनेजुएला सरकारले भने वासिङ्टनका पछिल्ला कदमहरू राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र देशको तेल भण्डारमाथि नियन्त्रण जमाउन केन्द्रित रहेको दाबी गरेको छ। प्रतिबन्धित तेल ट्याङ्कर जफत गर्ने कार्य पनि अमेरिकाको योजनाको भाग रहेको सरकारले जनाएको छ।

यो घटनाले क्यारेबियन क्षेत्रमा राजनीतिक र सुरक्षा अवस्थालाई थप तनावपूर्ण बनाएको छ। अन्तर्राष्ट्रिय समुदायले आक्रमणको घटनाप्रति ध्यान दिँदै क्षेत्रीय शान्ति र स्थायित्वका लागि अन्तर्राष्ट्रिय संवादको आवश्यकतामा जोड दिएका छन्।

प्रकाशित मिति: २०८२ पुष २०, शनिवार १४:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको