नाउपा रुपन्देही अध्यक्षसहित ३३ जनाले दिए राजीनामा, रास्वपा प्रवेश गर्दै



बुटवल ,पुस  २० । नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारु सहित ३३ जना पदाधिकारी र कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिने निर्णय पार्टी नेतृत्वका निर्णय, कार्यशैली र संगठन सञ्चालनमा असहमति जनाउँदै गरिएको जिल्ला अध्यक्ष थारुले जानकारी दिनुभयो।

राजीनामा दिनेमा जिल्ला अध्यक्षसँगै वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायतका नेता–कार्यकर्ता रहेका छन्।

तुल्सी थारुले बताएअनुसार, पार्टी नेतृत्वले कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत निर्णय गर्दै अघि बढेको महसुस भएपछि उनीहरूले सबै जिम्मेवारीहरू सहित साधारण सदस्यताबाट समेत राजीनामा दिएका हुन्।

राजीनामा पछि, नाउपाका पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समिति सँग समन्वय गर्दै उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गर्ने तयारीमा रहेका छन्। उनीहरूले रास्वपा प्रवेशले आफ्नो राजनीतिक मार्गदर्शन र क्षेत्रीय जनसाधारणसँगको सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरेका छन्।

यस घटनाले रुपन्देहीमा राजनीतिक दलहरूबीचको संरचनागत परिवर्तन र शक्ति सन्तुलनमा असर पार्ने सम्भावना छ। राजनीतिक विश्लेषकहरूले यसलाई स्थानीय नेतृत्वको असन्तुष्टि र नयाँ गठबन्धनको संकेतका रूपमा हेरेका छन्।

रास्वपामा प्रवेशपछि यी पूर्व नाउपा नेताहरूले आगामी चुनावी रणनीति र क्षेत्रीय संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने बताइएको छ।

प्रकाशित मिति: २०८२ पुष २१, आइतवार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको