अमेरिकाको आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु



काठमाडौं , पुस  २० । अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको दाबी गरिएको छ । न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको रिपोर्टअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने उद्देश्यले गरेको आक्रमणमा सर्वसाधारण र सैनिक गरी दर्जनौँको ज्यान गएको हो ।

शनिबार अमेरिकाले राजधानी काराकाससहित विभिन्न प्रमुख शहरहरूमा हवाई तथा स्थल आक्रमण गरेको थियो । आक्रमणकै क्रममा राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई अमेरिकाको न्यूयोर्क लगिएको जनाइएको छ । उनीहरू हाल अमेरिकी हिरासतमा रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आक्रमणमा कुनै मानवीय क्षति नभएको दाबी गरेका थिए । तर न्युयोर्क टाइम्सले भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै अमेरिकी आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको उल्लेख गरेको छ । रिपोर्टअनुसार अमेरिकी सेनाले मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले ठूलो स्तरको सैन्य कारबाही गरेको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणमा १५० भन्दा बढी लडाकु विमान प्रयोग गरी भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारिएको थियो । त्यसपछि सैन्य हेलिकोप्टरमार्फत स्थल सेना परिचालन गरी मादुरो बसेको निवासमा आक्रमण गरिएको थियो ।

हालसम्म ह्वाइट हाउस वा पेन्टागनले मृतकको संख्या र अपरेसनको विस्तृत विवरणबारे औपचारिक पुष्टि गरेको छैन । ट्रम्पले भने यसलाई ‘रातारात सम्पन्न भएको सफल अपरेसन’ भन्दै सुरक्षित सत्ता हस्तान्तरण सुनिश्चित नभएसम्म अमेरिका भेनेजुएलाको प्रशासन सञ्चालनमा संलग्न रहने बताएका छन् ।

भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् । यसैबीच, न्यूयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले मादुरो र फ्लोरेसमाथि कोकिन तस्करीलगायत गम्भीर आपराधिक अभियोग दायर गरेका छन् ।

आलोचकहरूले भने अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको र यसले ल्याटिन अमेरिकी क्षेत्रलाई थप अस्थिर बनाउने खतरा रहेको चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २०८२ पुष २१, आइतवार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको