मिर्चैयामा बढ्दो सवारी साधन चोरीप्रति नागरिक र व्यवसायी चिन्तित, सुरक्षा कडा पार्न ज्ञापनपत्र बुझाइयो



श्याम कुमार ठाकुर
सिरहा , पुस  २० । मिर्चैया— मिर्चैया नगरपालिकामा पछिल्लो समय मोटरसाइकललगायत सवारी साधन तथा धनमाल चोरीका घटना बढ्दै गएपछि स्थानीय नागरिक तथा व्यवसायीहरूले गम्भीर चासो व्यक्त गर्दै सुरक्षा व्यवस्था कडा पार्न माग गरेका छन्। उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रसमेत बुझाएका छन्।

ज्ञापनपत्रमा नगरपालिकाका विभिन्न वडाहरू, मुख्य बजार क्षेत्र तथा घरको आँगनबाटै दिउँसो वा रातिको समयमा मोटरसाइकल चोरी हुने घटना डरलाग्दो रूपमा बढिरहेको उल्लेख गरिएको छ। यस्ता घटनाले स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना हुनुका साथै नागरिकको सम्पत्तिको सुरक्षामाथि गम्भीर प्रश्न उठेको उनीहरूको भनाइ छ।

प्रहरी प्रशासनको सक्रियताका बावजुद चोरीका घटनामा कमी नआउनु र संलग्न अपराधीहरू सहजै उम्किनुले शान्ति सुरक्षाको अवस्था कमजोर रहेको अनुभूति भएको ज्ञापनपत्रमा उल्लेख छ।

समस्याको समाधानका लागि ज्ञापनपत्रमार्फत विभिन्न मागहरू अघि सारिएका छन्। जसअन्तर्गत मिर्चैया बजार, भित्री सडक र शंकास्पद स्थानहरूमा दिन–रात प्रहरी गस्ती तीव्र पार्न, बजारका मुख्य चोकहरूमा जडान गरिएका सीसीटीभी क्यामेराको मर्मत तथा नियमित निगरानी गर्न माग गरिएको छ।

त्यसैगरी नगरपालिकामा भित्रिने र बाहिरिने नाकाहरूमा सवारी साधनको कडा चेकजाँच व्यवस्था लागू गर्न तथा चोरीमा संलग्न गिरोहलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ। हराएका सवारी साधन खोजी गरी धनीलाई बुझाउने ठोस पहल गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।

स्थानीय नागरिक तथा व्यवसायीहरूले सुरक्षा व्यवस्था प्रभावकारी नबने जनजीवन र व्यवसाय दुवै प्रभावित हुने चेतावनी दिँदै सम्बन्धित निकायको शीघ्र पहलको अपेक्षा गरेका छन्।

प्रकाशित मिति: २०८२ पुष २१, आइतवार १३:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको