कांग्रेस महाधिवेशन विवाद : समाधान खोज्न पदाधिकारी बैठक आह्वान



काठमाडौं , पुस  २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति सारिएपछि उत्पन्न विवाद समाधानका लागि पार्टीको पदाधिकारी बैठक आह्वान गरिएको छ । आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णयपछि पार्टीभित्र असन्तुष्टि बढेपछि बैठक बोलाइएको हो ।

सहमहामन्त्री महेन्द्र यादवका अनुसार आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्नेछ । ‘महाधिवेशनको विषयमा देखिएको विवादबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ,’ उनले जानकारी दिए ।

यसअघि पुस २६ देखि २८ गतेसम्म तय गरिएको १५औँ महाधिवेशनको कार्यतालिका अनुसार तयारी अघि नबढेपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले बहुमतका आधारमा महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महाधिवेशन अब वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

तर, कार्यसम्पादन समितिको उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा सदस्यहरू अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन् । उनीहरूले विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने अडान दोहोर्‍याएका छन् ।

महामन्त्री गगन थापाले कार्यसम्पादन समिति बैठकपछि पुस मसान्तभित्र विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गरेका छन् । उनका अनुसार कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन् ।

कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । यही प्रावधानअनुसार विशेष महाधिवेशन अनिवार्य भएको महामन्त्री थापाको तर्क छ ।

तर संस्थापन पक्षले भने मंसिर १५ गते नियमित महाधिवेशनको मिति तोकिसकेपछि विशेष महाधिवेशन माग गर्दै बुझाइएका हस्ताक्षर निष्क्रिय भइसकेको दाबी गर्दै आएको छ । यस विषयमा पदाधिकारी बैठकले के निर्णय लिन्छ भन्ने चासो बढेको छ ।

प्रकाशित मिति: २०८२ पुष २१, आइतवार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको