आर्थिक वृद्धिदर औसतभन्दा बढी हुने संकेत, मौद्रिक सहजताले गति दिएको



काठमाडौँ, पुस २०। राष्ट्र बैंकले गरेको मौद्रिक सहजताका कारण नेपालको अर्थतन्त्रमा विस्तार हुँदै गएको छ र आगामी समय आर्थिक वृद्धिदर औसतभन्दा बढी हुने देखिएको छ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले तयार पारेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन, २०८१/८२ अनुसार, विश्वव्यापी रूपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट, कर्जा तथा निक्षेपको घट्दो ब्याजदर, जलविद्युत उत्पादनमा उल्लेख्य वृद्धि, विदेशी पर्यटक आगमनमा वृद्धिसँगै निर्यात र रेमिट्यान्स प्रवाहमा वृद्धिले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ।

प्रतिवेदनमा उल्लेख छ कि चालु आव २०८२/८३ मा मुद्रास्फीतिको दबाव कम रहेको छ र आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान गरिएको छ। आर्थिक गतिविधि बढाउन सरकारले साना तथा तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकता निर्धारण गर्ने रणनीति अपनाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ। अघिल्लो वर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ।

त्यसैगरी, आव २०८१/८२ को कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने अनुमान छ। प्रदेश अनुसार, बागमती प्रदेशले ३६.५ प्रतिशत, कोशी प्रदेश १५.९ प्रतिशत र कर्णाली प्रदेश ४.२ प्रतिशत योगदान गर्ने देखिन्छ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएको कुल कर्जामा औद्योगिक क्षेत्रको हिस्सा ३०.४२ प्रतिशत रहेको छ। गत असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशत र कर्जा प्रवाह ८।२ प्रतिशतले वृद्धि भएको छ। बागमती प्रदेशले कुल निक्षेपमा ६५.८ प्रतिशत र कुल कर्जामा ५९.५ प्रतिशत योगदान गरेको छ।

आव २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब तीन करोड पुगेको छ भने कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब चार अर्ब १२ करोड पुगेको छ।

प्रतिवेदनले संकेत गरेको छ कि मौद्रिक सहजता, तरलता पर्याप्तता, र सुधारमुखी सरकारी नीति संगै नेपालको आर्थिक वृद्धिदर औसतभन्दा बढी हुने सम्भावना छ।

प्रकाशित मिति: २०८२ पुष २१, आइतवार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको