वन हेरालु हत्या प्रकरण : घरदेखि ५०० मिटर टाढा जंगलमा भेटियो टाउको



जनकपुरधाम , पुस  २० । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत ४७ वर्षीय रामईश्वर महतो को हत्या प्रकरण मा उनको टाउको जंगलमा फेला परेको छ।

सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज राई का अनुसार केही समय अघि घटना स्थल नजिकै झाडीमा महतोको टाउको भेटिएको हो। “घटनास्थल नजिकै झाडीमा टाउको फेला परेको छ। टाउको नभएको शव हिजो नै भेटिएको थियो। घटनास्थलको मुचुल्का र अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ,” उनले जानकारी दिए।

महतो सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा कार्यरत थिए। शव घरदेखि करिब ५०० मिटर टाढा जंगलभित्र टाउको नभएको अवस्थामा फेला परेको थियो। स्थानीयवासीले शनिबार बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि घटनास्थलतर्फ गएर शव देखेका थिए।

प्रहरीले घटनास्थलमा धनुषाको लालगढबाट तालिमप्राप्त कुकुर समेत प्रयोग गरी अनुसन्धान सुरु गरेको छ। सो घटनामा संलग्न हुनसक्ने आशंकामा एक जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

घटना र खोजी कार्यलाई लिएर स्थानीयवासीमा पनि तनावको अवस्था देखिएको छ। प्रहरीले अपराधीलाई छिटो पत्ता लगाएर कारबाही गर्ने प्रतिवद्धता जनाएको छ।

यो प्रकरणले वन हेरालुहरू र जंगल संरक्षणमा कार्यरत कर्मचारीहरूको सुरक्षा माथि ध्यान दिनुपर्ने आवश्यकता पनि उजागर गरेको छ। प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: २०८२ पुष २१, आइतवार १४:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको