नेप्से दोहोरो अंकले घट्यो, कारोबार ५ अर्ब नाघ्यो



काठमाडौं , पुस  २० । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा अडिएको हो।

ब्याजदर न्यून अवस्थामा रहे पनि अर्थतन्त्रमा देखिएको सुस्तता र लगानीकर्ताको कमजोर मनोबलका कारण सेयर बजारले सकारात्मक गति लिन नसकेको विश्लेषकहरू बताउँछन्। माग विस्तार हुन नसक्नु, आर्थिक गतिविधि अपेक्षित रूपमा नबढ्नु र नीतिगत स्पष्टताको अभावले बजारमा दबाब सिर्जना भएको देखिन्छ।

गत साता केही दिन नेप्सेमा सुधार देखिए पनि त्यो टिकाउ हुन सकेन। वैकल्पिक राजनीतिक शक्तिहरू एक हुने संकेत र आगामी फागुन २१ गते निर्वाचन हुने सम्भावनाले बजारमा आशा जगाए पनि आइतबार पुनः बजार ओरालो लागेको हो। कारोबार सुरु भएदेखि नै नकारात्मक रहेको बजार बन्द हुँदासम्म सुधार देखिन सकेन।

यद्यपि बजार घट्दा पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आइतबार ३२३ कम्पनीका १ करोड २ लाख ७४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल कारोबारमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको, ७९ कम्पनीको बढेको र ९ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

समूहगत सूचकतर्फ हेर्दा बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह नकारात्मक रहे। बैंकिङ समूह १.९३ अंकले घट्दा जीवन बीमा र निर्जीवन बीमा समूहमा उल्लेख्य गिरावट देखियो।

तर, उत्पादनमूलक, होटल तथा व्यापार समूह भने हरियाली देखिए। उत्पादनमूलक समूह ८९.१० अंकले बढ्दा होटल समूह ४३.३७ र व्यापार समूह १२.९१ अंकले उकालो लागेको छ।

विश्लेषकहरूका अनुसार, उच्च कारोबार रकमले बजारमा लगानीकर्ताको चासो कायम रहेको संकेत गर्छ। नीतिगत स्थिरता र आर्थिक गतिविधिमा सुधार आएमा बजारले आगामी दिनमा पुनः सकारात्मक दिशा लिन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष २१, आइतवार १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको