वीरगञ्जमा तनाव, मधेशभर सुरक्षा सतर्कता उच्च



जनकपुरधाम , पुस २० । सामाजिक सञ्जाल टिकटकमा धर्म र संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव पूर्ण अवस्था सिर्जना भएको छ । धनुषामा सुरु भएको घटनाको प्रभाव पर्साको वीरगञ्जसम्म फैलिँदा प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ ।

धनुषा र पर्सासहित मधेश प्रदेशका आठै जिल्लामा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । एक उच्च सुरक्षा अधिकारीका अनुसार संवेदनशील परिस्थिति सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । ‘स्थिति नियन्त्रणमा राख्न र कुनै अप्रिय घटना हुन नदिन सतर्कता बढाइएको छ,’ ती अधिकारीले बताए ।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नाम गरेका दुई युवाले टिकटकमा हिन्दुस्तानको नाम उल्लेख गर्दै धार्मिक सहिष्णुतामा असर पार्ने खालको भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोले सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै स्थानीय अगुवाहरूले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल चलिरहेका बेला ती युवालाई पक्राउ गरिएको भन्दै केही समूह आक्रोशित बने । सोही क्रममा जनकपुरस्थित एक मस्जिदमा आक्रमण भएको थियो । घटनापछि अवस्था थप तनावग्रस्त बनेको थियो ।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेश बमका अनुसार मस्जिद आक्रमणमा संलग्न व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न सबैमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

प्रशासनले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक, उत्तेजक तथा धार्मिक सद्भाव बिगार्ने सामग्रीप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ । साथै, अफवाहको पछि नलाग्न र शान्ति–सुरक्षामा सहयोग गर्न स्थानीयवासीसँग अनुरोध गरिएको छ ।

हाल वीरगञ्जसहित मधेशका संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ भने स्थिति नियन्त्रणमा रहेको प्रशासनको दाबी छ ।

प्रकाशित मिति: २०८२ पुष २१, आइतवार १२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको