सुलीकोट , पुस २० । गोरखा र चितवनको सिमानामा पर्ने इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रमा त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । शनिबार बेलुका झोलुङ्गे पुल नजिक नदीमा पस्ने क्रममा ती युवकहरूलाई तेज बहावले बगाएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसारा निवासी २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिका निवासी २२ वर्षीय सौरभ थारु रहेका छन् । उनीहरू दुवै गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा निर्माणाधीन त्रिशूली हाइड्रोपावर आयोजनामा कार्यरत मजदुर भएको पुष्टि गरिएको छ ।
प्रहरीका अनुसार उनीहरू सिइ कन्स्ट्रक्सन प्रालिमार्फत उक्त आयोजनामा कामका लागि आएका थिए । काम सकेर नुहाउन नदीमा पसेका बेला अचानक पानीको तीव्र बहावले बगाउँदा बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनालगत्तै खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो । शनिबार बेलुका नदी आसपासका क्षेत्रमा खोजी गरिए पनि हालसम्म उनीहरूको कुनै अत्तोपत्तो नलागेको सशस्त्र प्रहरीले जनाएको छ ।
त्रिशूली नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ । सशस्त्र प्रहरीले आइतबार बिहानदेखि थप जनशक्ति र आवश्यक उपकरणसहित खोजी कार्यलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।
यस घटनापछि स्थानीय प्रशासनले नदी तथा जोखिमपूर्ण स्थानमा नजान र नुहाउँदा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । घटनाले स्थानीयवासी र आयोजना क्षेत्रमा कार्यरत मजदुरहरूलाई स्तब्ध बनाएको छ ।




