काठमाडौँ, पुस २० । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको अपमान र घोर अपराध भएको भन्दै कडा निन्दा गरेका छन्।
खनालका अनुसार, “यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, राज्य आतंकवाद पनि हो।” उनले जारी गरेको विज्ञप्तिमा अमेरिकाले भेनेजुएलामा लामो समयदेखि ‘गिद्धे दृष्टि’ राख्दै विश्वकै ठूलो तेल भण्डार कब्जा गर्ने उद्देश्यले यस्तो कदम चालिएको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्री खनालले मदुरो सरकारलाई हटाउन ‘ड्रग ट्राफिकिङ’को झुटो बहाना बनाइएको पनि बताएका छन्। उनले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध उभिएको दाबी गर्दै विश्वका न्यायप्रेमी देश, तेस्रो विश्वका राष्ट्र र संयुक्त राष्ट्रसंघसमेत अमेरिकी कारबाहीको विरोधमा रहेको उल्लेख गरेका छन्।
खनालले नेपाली कम्युनिष्ट पार्टी र नेपाली जनताको तर्फबाट भेनेजुएलाका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीको सकुशल रिहाइको माग गरेका छन्।
साथै उनले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हिंसात्मक आक्रमणविरुद्ध कडा कानुनी कदम चाल्न र साना तथा कमजोर मुलुकहरूको सार्वभौमसत्ताको रक्षा गर्न आग्रह गरेका छन्।




