भीमफेदी जिप दुर्घटनामा ६ जनाको मृत्यु, १२ घण्टापछि ४ को पहिचान



हेटौंडा, पुस २२। काठमाडौं–हेटौंडा जोड्ने छोटो मार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकहरु मध्ये ४को पहिचान खुलेको छ भने अन्य दुई जनाको पहिचान अझै खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा ना १ ज १७७८ नम्बरको टाटा सुमो जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो। जिपमा चालकसहित ९ जना सवार थिए, जसमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका थिए।



दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार दुर्घटनापछि करिब १२ घण्टापछि मात्रै मृतक र घाइतेहरूको पहिचान हुन सकेको हो।

मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार मृत्यु हुनेमध्ये ४ जनाको पहिचान खुलेको छ। पहिचान भएका मृतकमा हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीया सविता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहारको पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन्।

अन्य दुई मृतक करिब ३५ र ४० वर्षका पुरुषको भने हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। उनीहरूलाई हेटौंडा अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

यसैगरी, दुर्घटनामा घाइते भएका तीन जनामध्ये दुई जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ। रिफर हुनेमा जिप चालक हेटौंडा उपमहानगरपालिका–४ कर्राचोक बस्ने करिब ४०–४५ वर्षीय गणेश थापा र मृतक सविता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको डीएसपी बोगटीले जानकारी दिए।

हेटौंडा अस्पतालमै उपचाररत् अर्की घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने रिचा चौधरीको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष २१, सोमबार ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको