सप्तरी, फागुन १९ । राजविराज ४ का वडा अध्यक्ष एवं यातायात व्यवसायी दिनेश प्रसाद साह कसेरा र उनका परिवार शोकमा डुबेका छन् ।
मंगलबार होलीको रमझममा सबै डुबेका बेला कसेरा परिवारमा भएको एक घटनाले परिवारजनलाई शोकमग्न बनाएको हो ।
जसकारण परिवारका सबै सदस्य बिक्षिप्त छन् । दश दिनअघि भान्सा कोठामा ग्यास लिंक हुँदा भएको आगलागिले साहका कान्छा छोरा २६ वर्षिय मिथिलेश जलेर घाइते भएका थिए । उनलाई तत्कालै छिन्नमस्ता अस्पताल पु¥याई प्रारम्भिक उपचार गरिएको थियो । तर अवस्थामा सुधार नभएपछी किर्तिपुरस्थित जलन अस्पताल पु¥याइएको थियो ।
उपचारकै क्रममा सोमबार राती उनको निधन भएको हो । परिवारजनका अनुसार आइसिइयुमा राखेर उनको उपचार चलिरहेको थियो । स्वास्थ्य अवस्थामा पनि सुधार हुँदै गएको थियो । तर अचानक सोमबार उनमा निमोनिया देखिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
सोमबार मध्य रात उनको मृत शरीर काठमाडौंबाट ल्याइएपछी घरमा रुवावासी चलेको थियो । मंगलबार बिहान निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका स्थानियवासीको आँखा आसुले भरिएका थिए ।
घरमा परम्परागत संस्कार सकेपछी मंगलबार नै उनको कोशी ब्यारेज घाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा भतिजा बिनितले दागबत्ति दिएका थिए ।
शिलिण्डर फुट्ने र ग्यास चुहिएर आगो लाग्ने जस्ता घटना पटक पटक दोहरिन थालेकाले यसतर्फ सबै सचेत रहनु पर्ने जानकारहरुको सुझाव छ ।






