कांग्रेस र एमालेकै समानुपातिक सूचीमा त्रुटि, सच्याउन आयोगको पत्राचार



काठमाडौं, पुस  २१ । निर्वाचन आयोगले समानुपातिक प्रतिनिधित्वतर्फ राजनीतिक दलहरूले पेस गरेको उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटि सच्याउन दलहरूलाई पत्राचार गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई आवश्यक सच्याउन निर्देशन दिइएको हो।

आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूची अध्ययन गर्दा विभिन्न प्रकारका त्रुटि फेला परेका छन्। एउटै व्यक्तिको नाम दुई फरक–फरक क्लस्टरमा समावेश भएको, एउटा क्लस्टरमा हुनुपर्ने उम्मेदवारको नाम अर्को क्लस्टरमा राखिएको लगायतका त्रुटि देखिएका छन्। यस्ता कमजोरी नेपाली कांग्रेस र नेकपा एमालेको सूचीमा समेत भेटिएको आयोगले जनाएको छ।

यसका साथै केही दलले पेस गरेको सूचीमा उम्मेदवारको हस्ताक्षर नभएको, ‘पिछडिएको क्षेत्र’ समूहमा राखिएका उम्मेदवारको नागरिकता प्रमाणित गर्नुपर्ने अवस्था देखिएको आयोगको भनाइ छ। यी तथा अन्य नमिलेका विवरण स्पष्ट पार्न आयोगले दलहरूलाई पत्राचार गरेको हो।

यही पुस १३ र १४ गते निर्वाचन आयोगमा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका थिए। त्यसपछि गरिएको अध्ययनका आधारमा आयोगले आइतबार दलहरूलाई त्रुटि सच्याउन भनेको हो।

आयोगका अनुसार दलहरूले आजदेखि पुस २७ गतेसम्म आयोगले औंल्याएका त्रुटि सच्याउन सक्नेछन्। बन्दसूचीमा समावेश उम्मेदवारले नाम फिर्ता लिन चाहेमा पुस २८ गते समय दिइनेछ। यदि कसैले नाम फिर्ता लिएमा आयोगले त्यसको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिनेछ।

नाम फिर्ताका कारण रिक्त हुन आएको स्थानमा सोही समूहबाट अर्को उम्मेदवारको मनोनयन गरी दलले पुस ३० गते आयोगमा नामावली पेस गर्नुपर्नेछ। त्यसपछि आयोगले उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ।

आयोगको तालिकाअनुसार माघ ४ गते उम्मेदवारको बन्दसूची प्रकाशन हुनेछ। माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोध दर्ता गर्न सकिनेछ। माघ ११ देखि १७ गतेसम्म आयोगले दाबी–विरोधमाथि जाँचबुझ गरी निर्णय गर्नेछ।

अन्तिम रूपमा उम्मेदवारको बन्दसूची माघ २० गते प्रकाशन हुने आयोगले जनाएको छ। आगामी फागुन २१ गते मतदान हुने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: २०८२ पुष २२, सोमवार १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको