काठमाडौं , पुस २१ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा फेरि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य एकैदिन ४ हजार ६०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर प्रतितोला २ लाख ६५ हजार रुपैयाँ पुगेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, डलरको विनिमय दर र माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा समेत प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले बढ्दै ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
व्यवसायीहरूका अनुसार चाडपर्व सकिएपछि पनि सुनचाँदीको माग अपेक्षाकृत उच्च रहँदा मूल्यमा निरन्तर उतारचढाव देखिन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन सुरक्षित लगानीको रूपमा आकर्षक बन्दै जानु तथा भूराजनीतिक अनिश्चितताले समेत मूल्य वृद्धिमा भूमिका खेलेको उनीहरूको भनाइ छ।
नेपालमा सुनचाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको दर, डलर विनिमय दर र कर प्रणालीको आधारमा निर्धारण हुने गर्दछ। मूल्यमा आएको पछिल्लो वृद्धिले गहना खरिद गर्ने उपभोक्तामा थप आर्थिक भार बढाएको छ भने लगानीकर्ताहरूका लागि सुन अझ आकर्षक बन्दै गएको देखिन्छ।




