काठमाडौं, पुस २१ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन का लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग हुने तालमेलमा ८ सिटको दाबी प्रस्तुत गरेको छ। १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले आफ्नो राजनीतिक हैसियत र वर्तमान प्रतिनिधित्वका आधारमा ८ सिट माग गरेको हो।
तालमेलका विषयमा अन्य दलहरूसँग भएका छलफलबारे कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा जानकारी गराएका छन्। बैठकमा निर्वाचन तयारी, सम्भावित गठबन्धन र सिट बाँडफाँटको अवस्थाबारे विस्तृत ब्रिफिङ गरिएको थियो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले, कांग्रेसले गठबन्धनका तर्फबाट ८ सिटको दाबी गरेको जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा प्रस्तुत गरेको बताइन्। उनका अनुसार राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुने लगभग निश्चित भइसकेको छ।
कोइरालाले भनिन्, “राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुने निश्चित छ। कार्यवाहक सभापतिज्यूले कांग्रेसले गठबन्धनका तर्फबाट ८ सिट दाबी गरेको जानकारी बैठकमा गराउनुभएको छ।”
हाल कांग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी नेपालबीच तालमेलका लागि निरन्तर छलफल भइरहेको छ। कांग्रेसका तर्फबाट कार्यवाहक सभापति खड्का तथा अन्य नेताहरूले विभिन्न दलका शीर्ष नेतृत्वसँग संवाद गरिरहेका छन्।
दलहरूबीच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटिसकेको भए पनि कुन दलले कति सिट लिने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। सिट बाँडफाँटमा सहमति जुटाउन थप राजनीतिक संवाद र समन्वय आवश्यक देखिएको छ।
राष्ट्रियसभा निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख दलहरूको शक्ति सन्तुलनको महत्वपूर्ण परीक्षा मानिएको छ। यस निर्वाचनको नतिजाले आगामी प्रतिनिधिसभा निर्वाचनको राजनीतिक दिशा पनि संकेत गर्ने विश्लेषकहरूको भनाइ छ।




