काठमाडौं , पुस २१ । पर्साको वीरगञ्जमा सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म सर्वसाधारण भेला, सभा, जुलुस र प्रदर्शनमा रोक लगाउने गरी निषेधाज्ञा जारी गरिएको छ। वीरगञ्ज महानगरपालिका क्षेत्रको पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू हुने यस आदेश उल्लंघन गर्ने व्यक्ति वा समूहलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार यस कदम पछिल्लो समयमा धार्मिक स्थलमा तोडफोड, आगजनी तथा धार्मिक समूहबीचको तनावका घटनासँग सम्बन्धित छ। आइतबार मुस्लिम समुदायले मस्जिद तोडफोड र आगजनीको घटनाप्रति विरोध स्वरूप प्रदर्शन गरेको थियो।
त्यसैगरी सोमबार बिहानैदेखि हिन्दू समुदायले मन्दिर तथा देविदेवता विरुद्ध अभद्र टिप्पणी भएको भन्दै प्रदर्शन गर्न थालेका थिए। बिहान १० बजे फेरि हिन्दुवादी संगठनहरूले वीरगञ्जमा प्रदर्शन गरेपछि प्रशासनले दुवै पक्षबीच बढ्दो तनावलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको हो।
प्रशासनले विवाद समाधानका लागि वार्ता मार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिएको छ। यसैबीच सुरक्षा जाँच र निगरानी थप बढाइने भएको छ, ताकि सामाजिक शान्ति कायम रहोस् र कुनै अप्रिय घटना नहोस्।




