काठमाडौं , पुस २२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित गरिएको छ। राष्ट्रियसभा निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न मंगलबार बोलाइएको बैठक केही समय चलेपछि सहमति जुट्न बाँकी रहेकाले स्थगित गरिएको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकका केही महत्वपूर्ण विषयमा सहमति हुन नसकेपछि आजै पुनः बस्ने गरी स्थगित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठक आज मंगलबार नै केही समयपछि पुनः बस्ने तयारी गरिएको छ।
यसअघि सोमबार बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा अपनाइने रणनीति र सम्भावित चुनावी तालमेलबारे विस्तृत ब्रिफिङ गर्नुभएको थियो। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बीच हुने सम्भावित तालमेल, सिट बाँडफाँट र क्लस्टरको विषयमा छलफल केन्द्रित रहेको थियो।
राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख दलहरूबीच चुनावी तालमेल गर्ने अन्तिम तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ। सोही सन्दर्भमा सोमबारको बैठकपछि कार्यवाहक सभापति खड्का केन्द्रीय सदस्य रमेश लेखकसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुग्नुभएको थियो।
त्यसअघि आइतबार एमाले महासचिव शंकर पोखरेलले कांग्रेसका कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकसँग भेटवार्ता गर्नुभएको थियो। आइतबार नै एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि राष्ट्रियसभा निर्वाचन केन्द्रित संवाद भएको थियो।
पार्टी स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँट, प्रदेशगत समन्वय र तालमेलको मोडालिटी टुंग्याउन थप छलफल आवश्यक देखिएकाले बैठक स्थगित गरिएको हो। आज पुनः बस्ने बैठकबाट चुनावी तालमेलसम्बन्धी ठोस निर्णय आउने अपेक्षा गरिएको छ।




