काठमाडौं , पुस २२ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्का तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्। राजनीतिक गतिविधिमा सक्रिय रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई पदबाट हट्न सुझाव दिएको स्रोतले जनाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा संलग्न हुनु उपयुक्त नहुने भन्दै कडा असन्तुष्टि व्यक्त गरेकी थिइन्। बैठकमा उनले राजनीतिक गतिविधिमा संलग्न नहुने व्यक्तिमात्रै आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा रहन सक्ने स्पष्ट सन्देश दिएको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री विशेषगरी ऊर्जामन्त्री कुलमान घिसिङको गतिविधिप्रति बढी गम्भीर देखिएकी छन्। हालै कुलमान घिसिङले आफू संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’लाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा समाहित गराएका थिए। सोही क्रममा रास्वपाले उनलाई पार्टीको उपाध्यक्षको जिम्मेवारी दिएको थियो। यस घटनाले मन्त्री पदमा रहँदै खुला राजनीतिक भूमिका खेलेको आरोप प्रधानमन्त्रीको तर्फबाट उठाइएको छ।
त्यस्तै, खेलकुदमन्त्री बब्लु गुप्ता पनि पछिल्लो समय रास्वपाका गतिविधिमा सक्रिय देखिँदै आएका छन्। सञ्चारमन्त्री जगदीश खरेलले समेत आफ्नो व्यक्तिगत स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ रहेको स्रोतको दाबी छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशमा राजनीतिक अस्थिरता बढेपछि ‘नागरिक सरकार’को अवधारणाअनुसार सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो। सो सरकारलाई दलगत राजनीतिबाट टाढा राख्ने उद्देश्यसहित गठन गरिए पनि मन्त्रीहरूको पछिल्लो गतिविधिले सरकारको मूल भावना विपरीत काम भएको निष्कर्ष प्रधानमन्त्रीले निकालेको बताइएको छ।
प्रधानमन्त्रीको आग्रहपछि सम्बन्धित मन्त्रीहरूले के निर्णय लिन्छन् भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।




