काठमाडौं , पुस २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरस्थित एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रियुगा नगरपालिका–१ मा रहेको जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र लेखापरीक्षकले मिलेमतोमा सरकारी रकम हिनामिना गरेको ठहर गर्दै आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
अख्तियारका अनुसार तत्कालीन अध्यक्ष मीनाकुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र लेखापरीक्षक तनुकलाल चौधरीले समितिको रकम दुरुपयोग गरेका हुन्। उनीहरूमाथि कुल ५ लाख १५ हजार ३०२ रुपैयाँ ५८ पैसा हिनामिना गरेको अभियोग लगाइएको छ।
आर्थिक वर्ष २०७७\०७८ मा सामुदायिक वनको भवन निर्माणमा प्राविधिक प्रतिवेदनअनुसार ४ लाख ९५ हजार रुपैयाँ मात्र खर्च भएको भए पनि लेखापरीक्षणमा ८ लाख ८ हजार रुपैयाँ खर्च देखाई ३ लाख १३ हजार रुपैयाँ हिनामिना गरिएको अख्तियारको दाबी छ। यस्तै, साधारणसभाबाट २ लाख ३७ हजार रुपैयाँ मात्र स्वीकृत भएकोमा ३ लाख ५४ हजार रुपैयाँ खर्च देखाई १ लाख १६ हजार रुपैयाँ अनियमितता गरिएको आरोप छ।
त्यसैगरी, ग्यास सिलिन्डर वितरणमा वास्तविक खर्चभन्दा बढी रकम देखाएर ७ हजार रुपैयाँ हिनामिना गरिएको र हुँदै नभएको सडक ग्राभेलको काम देखाई ७७ हजार ६ सय रुपैयाँ दुरुपयोग गरिएको अभियोगसमेत लगाइएको छ।
अख्तियारका अनुसार लेखापरीक्षक तनुकलाल चौधरीले नभएका कामलाई पनि भएको देखाई गलत प्रतिवेदन तयार पारी भ्रष्टाचारमा सघाएको ठहर गरिएको छ। आयोगले अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुल उपरको मागदाबी गरेको छ। लेखापरीक्षकविरुद्ध पनि कैद र जरिवानाको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।




