ओम प्रकाश यादव
रौतहट, पुस २२। रौतहटमा बढ्दो चिसोका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएपछि चिसोबाट आम नागरिकलाई जोगाउन गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवाल आफै दाउरा लिएर बस्तीमा पुगेका छन ।
नगरका ग्रामीण भेगदेखि शहरी क्षेत्रका बजार, चोक–चौराहा तथा सार्वजनिक स्थानहरूमा मेयर जयसवाल आफैं उपस्थित भई दाउरा वितरण गरिरहेका छन्। यसले चिसोबाट पीडित सर्वसाधारणमा केही राहत पुगेको स्थानीयवासीले बताएका छन्।
नगर प्रमुख जयसवालले यसअघि पनि अत्याधिक चिसो बढेका बेला दाउरा वितरण गरिसकेका थिए। पुनः चिसो बढेपछि नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उनले दोहोर्याएर राहत कार्यक्रम अगाडि बढाएको नगरपालिकाले जनाएको छ।
आज बसबीटी जिंगडिया, बिर्ता, मलाहिटोल लगायतका गाउँहरूमा मेयर जयसवालको प्रत्यक्ष उपस्थितिमा दाउरा वितरण गरिएको हो। चोक, सार्वजनिक स्थल तथा भिडभाड हुने स्थानहरूमा दाउरा बालेर न्यानोको व्यवस्था गरिएको छ।
मेयर जयसवालले भने,“बढ्दो चिसोले जनजीवन प्रभावित भइरहेको अवस्थामा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्नु हाम्रो दायित्व हो। चिसो कम नहुँदासम्म नगरका सबै टोल–टोल र सार्वजनिक स्थानमा दाउरा वितरण जारी रहनेछ।”
नगरपालिकाले प्रत्येक गाउँ र शहरी क्षेत्रका प्रमुख चोकहरूमा चरणबद्ध रूपमा दाउरा वितरण गर्ने योजना बनाएको छ। स्थानीयवासीले मेयर स्वयं खटिएर राहत वितरण गरेकोमा नगर नेतृत्वप्रति विश्वास र समर्थन व्यक्त गरेका छन्।
गरुडा नगरपालिकाको यो पहलले बढ्दो चिसोबाट जोगिन नागरिकलाई ठूलो सहयोग पुगेको भन्दै सर्वत्र सकारात्मक प्रतिक्रिया आइरहेको छ।






