विराटनगर ,पुस २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिरहेका छन्। नयाँ मन्त्रीहरूको शपथ ग्रहण मंगलबार साँझ साढे ४ बजे प्रदेश प्रमुखसँग तय गरिएको छ। यसअघि सरकारमा रहेका सबै मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्।
प्रदेशमा गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरू फिर्ता गरेर नयाँ अनुहार नियुक्त गर्ने समझदारी गरेको स्रोतले जानकारी दिएको छ।
हालको सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र राज्यमन्त्री सिर्जना राई छन्।
कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हांगाम रहेका थिए।
एमालेले विदुर लिङ्थेप, चिन्तन पाठक, इन्द्रमणि पराजुली र रामकुमार महतोलाई नयाँ मन्त्री बनाउने तयारी गरेको छ। लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ। उमाकान्त गौतमलाई राज्यमन्त्री बनाउने तयारी छ।
कांग्रेसबाट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू र इस्राइल मन्सुरी मन्त्री बन्नेछन्। सुनुवारलाई भौतिक पूर्वाधार, पराजुलीलाई पर्यटन, वन तथा वातावरण, लिम्बूलाई स्वास्थ्य र मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय दिइनेछ। शोभा चेम्जोङ राज्यमन्त्री बन्ने तय भएको छ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार, मन्त्रालयहरू उही रहने भए पनि मन्त्रीहरूमा परिवर्तन हुने भएकोले ‘मन्त्रालय उही, व्यक्ति फेर्ने’ तयारी भइरहेको छ।




