काठमाडौं, पुस २२। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीका नेता विमलेन्द्र निधीमाथि दुर्व्यवहार भएको छ। विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरू कार्यालय प्रवेश गर्ने क्रममा संस्थापन पक्षका नेताहरूमाथि दबाब दिने उद्देश्यले मूलद्वारमै विरोध प्रदर्शन गरेका थिए।
सोही क्रममा नेता निधी कार्यालय प्रवेश गर्न लाग्दा केही कार्यकर्ताले उनलाई रोक्ने प्रयास गर्दै नाराबाजी गरेका थिए। घटनाले केही समय केन्द्रीय कार्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
घटनापछि प्रतिक्रिया दिँदै नेता निधीले पार्टीभित्र विचार राख्ने र असहमति जनाउने अधिकार सबैलाई भए पनि व्यक्तिगत दुर्व्यवहार कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। उनले कांग्रेसलाई आन्तरिक विवादभन्दा माथि उठाएर एकताबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
यसैबीच, नेता निधीमाथि भएको दुर्व्यवहारको विरोधमा जनकपुरधाममा कांग्रेसका नेता–कार्यकर्ताहरूले महामन्त्री गगन थापाविरुद्ध प्रदर्शन गरेका छन्। जनकपुरको भानु चोकमा उनीहरूले नाराबाजी गर्दै गगन थापाको पुत्ला दहन गरेका हुन्।
विशेष महाधिवेशनको मुद्दालाई लिएर कांग्रेसभित्रको आन्तरिक विवाद अब सडकसम्म आइपुगेको देखिएको छ। संस्थापन पक्षले आगामी बैशाखमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ भने महामन्त्रीद्वयले पुस २८ गते नै विशेष महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका छन्।
कांग्रेसभित्र देखिएको यो मतभेदले पार्टीको संगठनात्मक एकता र आगामी राजनीतिक रणनीतिमा प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।




