कांग्रेस विशेष महाधिवेशनका लागि १८ उपसमिति, स्वामित्व लिन कांग्रेस नेतृत्वलाई आग्रह



काठमाडौं, पुस २३ । नेपाली कांग्रेस विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उपसमितिहरू गठन गरिएको जानकारी गराउँदै पार्टी नेतृत्वलाई यसको स्वामित्व लिन आग्रह गरेका छन्।

पार्टी संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले भने विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको हो।

पत्रकार सम्मेलनमा जारी वक्तव्यमा पार्टी विधानको धारा १७ को उपधारा (२) अनुसार विशेष महाधिवेशनको मागसहित २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टी केन्द्रीय कार्यालयमा बुझाइसकेको उल्लेख गरिएको छ।

वक्तव्यमा भनिएको छ, “पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग गरिएको विशेष महाधिवेशन नहुने परिकल्पना नै गरेको छैन। विधान बमोजिम माग भएको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार कसैलाई छैन।”

विशेष महाधिवेशन २०८२ पुस २८ भित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको उल्लेख गर्दै यसलाई उल्लंघन गर्ने सुविधा कसैलाई नभएको पनि स्पष्ट पारिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो। यसको कार्यान्वयन गर्नु हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो।”

पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको स्मरण गराउँदै विशेष महाधिवेशनका निर्णयहरू स्वतः वैध हुने दाबी गरिएको छ।

अन्त्यमा, विशेष महाधिवेशन पक्षधरहरूले पार्टी नेतृत्वले आफ्नो जिम्मेवारी बुझेर आयोजनाको स्वामित्व लिने विश्वास व्यक्त गर्दै, यस महाधिवेशनले नेपाली कांग्रेसको आन्तरिक एकता सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेका छन्।

प्रकाशित मिति: २०८२ पुष २४, बुधवार १६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको