काठमाडौं , पुस २४ । नेपाली सेनाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। सहायक रथी तथा सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना २०८२ राष्ट्रपतिबाट अनुमोदित भइसकेको छ र सोही अनुसार सेनाको परिचालन हुने बताइएको छ।
बस्नेतले भने, “निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाले मार्गनिर्देशन गरेअनुसार, निर्वाचनको एक महिना अघिबाट सेना फिल्डमा परिचालन हुनेछ।” योजना अनुसार, निर्वाचन पूर्व मतपत्र छपाइदेखि महत्वपूर्ण संरचनाको सुरक्षा, मतदानका दिन निर्वाचनस्थलको सुरक्षा, मत पेटिकाको ढुवानी र मतगणना स्थलसम्म सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी सेनाले बहन गर्नेछ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागार लगायत महत्वपूर्ण संरचनाको सुरक्षा सेनाले गर्नेछ। साथै, चारवटा सुरक्षा निकाय र जिल्ला प्रशासनसँग सहकार्य गरी तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गरिनेछ। यसले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन मद्दत गर्नेछ।
मतदानको दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा खटिनेछ र राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिनेछ। यसअघि जस्तै यसपालि पनि देशभरि सुरक्षा बेश स्थापना गरिने र आवश्यक परे थप सुरक्षा प्रबन्ध मिलाइने छ।
प्रादेशिक तहमा पनि सुरक्षा गोष्ठी सञ्चालन भइरहेको छ, जसमा प्राप्त सुझावका आधारमा परिस्थिति मूल्याङ्कन गरी थप सुरक्षा सुनिश्चित गरिनेछ। सेनाले सबै सुरक्षा फौज, स्थानीय प्रशासन र जनप्रतिनिधिसँग समन्वय गर्दै राज्यको प्राथमिक कार्यभारअनुसार निर्वाचन सुरक्षा प्रदान गर्न तयार रहेको जनाएको छ।




