काठमाडौं , पुस २४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीका जिल्ला कार्यसमितिहरूले स्वागत गर्दै सहभागिताका लागि अपिल जारी गर्न थालेका छन्।
अहिलेसम्म ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्कीका सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, उदयपुरका सभापति हिमाल कार्की लगायतले विशेष महाधिवेशनलाई स्वागत गर्दै विज्ञप्ति जारी गरी सहभागिताको अपिल गरेका छन्। नेताहरूका अनुसार ३० भन्दा बढी जिल्ला सभापति विशेष महाधिवेशन पक्षमा छन्।
विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने तय भएको छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांशले विशेष महाधिवेशनको औचित्य नभएको बताइरहेका छन्। तर नेता शेखर कोइरालाले यसलाई ‘संकल्न महाधिवेशन’मा रूपान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए। तर हस्ताक्षर सनाखतलगायत प्रक्रिया त्यसपछि अघि बढाइएको थिएन। विधानअनुसार, ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे तीन महिनाभित्र आह्वान गर्नुपर्छ। सभापति र केन्द्रीय कार्यसमितिले आह्वान नगरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बाध्यकारी भन्दै आह्वान गरेका थिए।
विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौंमा आउने क्रम पनि सुरू भइसकेको छ। कांग्रेस भित्रको यो कदमले पार्टीभित्रको आन्तरिक राजनीतिक बहस अझै तीव्र बनाउने देखिन्छ।




