आँखामा आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा : ४ भारतीय कारागार चलान, ३ धरौटीमा रिहा



काठमाडौं , पुस  २४ । ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अत्याधुनिक प्रविधि प्रयोग गरी जुवा खेल्ने तथा खेलाउने गिरोहका चार जना भारतीय नागरिकलाई कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले ठगीको कसुरमा उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

कारागार चलान हुनेमा भारतका ५७ वर्षीय सुरेश महाजन, ३९ वर्षीय प्रमोद मौर्य, ३२ वर्षीय विक्रम सिंह र ३७ वर्षीय दिनेश बर्मा रहेका छन् । अदालतको आदेशअनुसार उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

यसै प्रकरणमा संलग्न सुनसरीकी ३५ वर्षीया चिजा खड्का र काठमाडौंकी ४० वर्षीया भवानी पाण्डे जनही एक–एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । त्यस्तै, चिनियाँ नागरिक वाङ पुफा यान होउ पाँच लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

प्रहरीका अनुसार गिरोहले म्याग्नेटिक चिप जडान गरिएको तास र त्यससँग कनेक्ट हुने विशेष आइलेन्स प्रयोग गरी क्यासिनोमा करोडौं रुपैयाँ ठगी गर्ने योजना बनाएको थियो । आँखामा आइलेन्स लगाएपछि खेलाडीले पछाडिबाटै कसलाई कुन तास परेको छ भन्ने जानकारी पाउने व्यवस्था गरिएको थियो । त्यसअनुसार गिरोहले खडा गरेका ‘डमी’ खेलाडीले खेललाई नियन्त्रणमा लिने गर्थे ।

सुरेश महाजनको नेतृत्वमा रहेको समूहले नेपालमा क्यासिनो इभेन्ट आयोजना गर्ने बहानामा क्यासिनो बुक गर्ने, पाँचतारे होटलमा ११० वटा कोठा रिजर्भ गर्ने र ठूलो रकम भएका खेलाडीलाई आकर्षित गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । तास र चिपको सम्पूर्ण व्यवस्थापन महाजन आफैंले गर्ने गरेको प्रहरीको भनाइ छ ।

यस प्रकरणमा क्यासिनो सञ्चालक विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी र कमल खरबन्दा ९मुकेश० फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष २५, बिहिवार ११:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको