काठमाडौं, पुस २४ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकहरूलाई एकीकृत गर्ने प्रक्रियामा आफू सक्रिय रूपमा अग्रसर रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धिलाई सुदृढ बनाउन बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको उल्लेख गरे ।
सोही उद्देश्यका साथ विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको उनको भनाइ छ । एक्लै–दुक्लै प्रयासले देशको समग्र विकास सम्भव नहुने भएकाले सबै शक्तिलाई एकताबद्ध गर्नुपर्ने उनले बताए ।
प्रचण्डले पछिल्लो समय देशभरका प्रदेश, जिल्ला र स्थानीय तहमा नेकपाप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको दाबी समेत गरे । विशेषगरी जेन–जी युवाहरूले आफ्ना विचार, भावना र आकांक्षालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको बुझ्न थालेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै उनले भने, “यो राष्ट्रको एकता र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रूपमा समृद्ध बनाउने दायित्व पनि हाम्रो काँधमा छ । त्यसका लागि बृहत् राष्ट्रिय एकता आवश्यक छ, र त्यही उद्देश्य लिएर हामी नेकपा निर्माण गरेर अघि बढिरहेका छौं ।”
पार्टी प्रवेश कार्यक्रममा सहभागी अधिकांश युवापुस्ताका रहेको उल्लेख गर्दै उनले यसले देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए । साथै, मुलुकको बृहत्तर हितका लागि सधैं प्रतिबद्ध भएर लाग्न सबैलाई आग्रह समेत गरे ।




