काठमाडौं , पुस २४ । आगामी माघ ४ देखि नेपालमा त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको १५ सदस्यीय अन्तिम टोली घोषणा भइसकेको छ। इन्दु बर्माको कप्तानीमा तयार भएको टोलीमा अलराउन्डरहरूको बाहुल्यता देखिन्छ।
नेपाल समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणका चारवटै खेल त्रिवि क्रिकेट मैदानमै हुनेछन्। पहिलो खेल माघ ४ गते थाइल्यान्डसँग, दोस्रो माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो माघ १० गते जिम्बाबेसँग र चौथो माघ १२ गते स्कटल्यान्डसँग हुनेछ। शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् र त्यसपछि शीर्ष चार टोली विश्वकपमा छनोट हुनेछन्।
टोलीका प्रमुख खेलाडीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, अनुभवी रुबिना क्षेत्री, सिनियर सीता रानामगर, काजल श्रेष्ठ, बिन्दु रावल, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, राजमती ऐरी, मनीषा उपाध्याय, रिया शर्मा, रचना चौधरी, रोमा थापा र सोमु विष्ट रहेका छन्। टोलीमा बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलन रहेको छ।
कप्तान इन्दु बर्माले टोली सबैले आ–आफ्नो क्षमताअनुसार मेहनत गरिरहेको बताउँदै “खेलको दिनमा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ तयारी भइरहेको छ” भनिन्। उपकप्तान पूजा महतोले पनि विश्वकपमा छनोट भएर प्रदर्शन गर्ने अठोट व्यक्त गरेकी छन्।
नेपालको महिला टोलीले पहिलोपटक एसिया चरणको छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो। टोलीले घरेलु मैदानमा अभ्यास खेलहरू र प्रशिक्षणमार्फत विश्वकपमा खेल्ने तयारी पूरा गर्दैछ।






