अन्तिम समयको सुधारले नेप्से सामान्य वृद्धि, कारोबार रकम घट्यो



काठमाडौँ, पुस २४ । साताको अन्तिम दिन बिहीबार नेपाली सेयर बजार (नेप्से)मा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ।

बजारमा दिनभर तीव्र उतारचढाव रह्यो। अधिकांश समय नेगेटिभ रहे पनि अन्तिम समयमा सुधार आएपछि परिसूचकले सकारात्मक दिशा लिएको हो। तर, बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ। आज कुल कारोबार ४ अर्ब ९० करोड रुपैयाँमा सीमित रह्यो, जबकि अघिल्लो दिनको कारोबार ५ अर्ब रुपैयाँभन्दा माथि थियो। दिनभरमा ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार कित्ता शेयर ६९ हजार २६१ पटक खरिद–बिक्री भएका थिए।

आज कुल १२९ कम्पनीको शेयर मूल्य बढेको छ। ११५ कम्पनीको मूल्य ओरालो लाग्यो भने बाँकी १५ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ।

आजको बजारमा साञ्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्। कम्पनीको शेयर मूल्य ८.१६ प्रतिशतले बढेर ७९५ रुपैयाँ पुगेको छ। त्यस्तै, एसबाई प्यानलको मूल्य ५.७१ प्रतिशत र खानीखोला हाइड्रोपावरको ४.६३ प्रतिशतले वृद्धि भएको छ। बजारमा सर्वाधिक गिरावट सुपर मादी हाइड्रोपावरमा देखियो, जसको मूल्य ३.९० प्रतिशतले घट्यो।

बजार समूहगत रूपमा हेर्दा बैंकिङ समूहसहित सत समूह सकारात्मक रह्यो भने ६ समूहमा हल्का गिरावट देखियो। सबै समूहमा उतारचढाव १ प्रतिशतभन्दा कम रहेको थियो।

कारोबार रकमको आधारमा आज सायपत्री हाइड्रोपावर अग्रस्थानमा रह्यो। यस कम्पनीको शेयर २० करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। यस्तै, बन्दीपुर केवलकारको १७ करोड ६० लाख र साञ्भी इनर्जीको १५ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बजार विश्लेषकहरूले दिनको अन्तिम सुधारले लगानीकर्तामा विश्वास कायम राखेको भए पनि कारोबार रकम घट्नु आर्थिक गतिविधिमा सावधानीको संकेत भएको बताएका छन्।

प्रकाशित मिति: २०८२ पुष २४, बिहीबार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको