काठमाडौंमा ७५ घरलाई मौलिक स्वरुपमा रुपान्तरण गर्ने योजना सुरु



काठमाडौं , पुस  २४ । काठमाडौं महानगरपालिकाले जयबागेश्वरी क्षेत्रमा पर्ने ७५ घरलाई मल्लकालीन तथा राणाकालीन मौलिक शैलीमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ।

कामपा-८ अन्तर्गत उक्त क्षेत्रको सडक खण्ड जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्म २९० मिटर लम्बाइको छ। यहाँका सडकतर्फ देखिने घरको मोहडालाई ऐतिहासिक शैली अनुसार परिवर्तन गर्न बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरिएको छ। सम्झौताको लागत रु। ९ करोड ४ लाख ८९ हजार ३७७ निर्धारण गरिएको छ।

कार्यक्रमका संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो, “घरको पेटी, कार्नेस, बलेँसी, पाखा, झिँगटी छानो, एकमुखे, तीनमुखे वा पाँचमुखे बुँट्टेदार झ्यालहरू जस्ता मल्लकालीन वास्तुशैलीका विशेषताहरू राखिनेछन्।”

यस सडक खण्डभित्र करिब २५० घर जोडिएका छन्। त्यसमध्ये सडक वा खुला ठाउँबाट देखिने अगाडिको भागको स्वरुप परिवर्तन गर्ने योजना रहेको छ। साथै, सेतो ढोका, ढोकासिंह नरसिंह फल्चा, ताम्रेश्वर महादेव मन्दिर, बच्छलेश्वरी डबली फल्चा, नवदुर्गा डबली, जयबागेश्वरी मन्दिर, कुमारी द्यः स्तुप र सुन्धाराजस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका मूर्तिसँग जोडिएका संरचनाको संरक्षण पनि योजना अन्तर्गत गरिनेछ।

योजनाको मुख्य उद्देश्य लिच्छविकालीन सहरको ऐतिहासिकता कायम राख्दै मौलिक स्वरुप पुस्तान्तरण गर्नु हो। यस क्रममा वडाले करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको यःपुखु(मनपर्ने पोखरी) पुनःनिर्माण गर्दै ऐतिहासिक सौन्दर्यलाई जगेर्ना गर्ने काम पनि गर्दैछ।

काठमाडौं महानगरपालिकाको यस पहलले निजी र संस्थागत भवनमा परम्परागत शैली कायम राख्दै सांस्कृतिक, पुरातात्विक र वास्तुकलात्मक महत्वको संरक्षण गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: २०८२ पुष २५, बिहिवार १६:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको